सूचना तथा सञ्चार प्रविधिको विकासका लागी युवाको भूमिका विषयक
अन्तरक्रिया कार्यक्रम
सूचना प्रविधि समाज नेपालको दशौं वार्षिक उत्सवको अवसरमा कमलपोखरी स्थित रसियन कल्चर सेन्टरमा(जेष्ठ ६, २०७० ) सूचना तथा सञ्चार प्रविधिको विकासका लागी युवाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । सूचना तथा सञ्चार प्रविधिका विभिन्न संघ संस्थाका प्रतिनिधि तथा प्रमुखहरु, सरकारी निकायहरुको प्रतिनिधिको उपस्थितीमा सम्पन्न अन्तरक्रियामा पुल्चोक क्याम्पसका सहायक डीन प्रा.डा.सुवर्ण शाक्यले सूचना तथा सञ्चार प्रविधिको विकासका लागी युवाको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । डा.शाक्यले विश्वको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा युवाहरुले पु-याएको योगदान र सहभागिताको बारेमा जानकारी दिंदै नेपालमा यस क्षेत्रमा युवाको सहभागिताको लागि सम्भावना र चुनौतिका विषयमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा वोल्दै क्यानका अध्यक्ष ई.विनोद ढकालले सूचना तथा सञ्चार प्रविधि र युवा पर्याय रहेकोले सरकारलाई यस क्षेत्रमा युवाको सहभागिता सुनिश्चितताको लागि सरकारले प्राथमिकतामा राख्नु पर्ने विचार व्यक्त गर्नुभयो ।
पुर्व मन्त्री गणेश शाहले समाज परिवर्तनको लागि सूचना प्रविधि महत्वपूर्ण आधार भएकोले यस क्षेत्रमा युवाको सहाभगिताको लागि युवाहरु नै अग्रसर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सूचना प्रविधि विभागका महानिर्देशक कपिलदेव श्रेष्ठले सूचना प्रविधिको विकासमा युवाको सहभागिता उत्साहजनक रहेको र नेपाल सरकारका तर्फबाट यस क्षेत्रको विकासमा युवाहरुको संलग्नताको लागि निती नियममा नै सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
रसियन कल्चर सेन्टरका शिशिरानन्द मिश्रले रसियामा सूचना तथा सञ्चार प्रविधि विषय अध्ययनका लगि आवश्यक प्रक्रिया र अवसरका विषयमा जानकारी दिनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष नारायण न्यौपानले नेपालको समग्र विकासका लागि नेपाल सरकार, निजी क्षेत्रको सहकार्य जरुरी रहेको बताउनुभयो ।
सूचना प्रविधि समाजका अध्यक्ष चन्द्र विलास भुर्तेलले विगत १० वर्षमा सूचना प्रविधि समाज नेपाललाई पु-याउने सबैलाई धन्यावाद ज्ञापन गर्दै आगामी दिनका स्थानीय स्तरमा समेत सूचना तथा सञ्चार प्रविधि पहुँचको लागि विषेश कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो ।